पल्सर स्पोट्र्स अवार्ड २०७० आज प्रदान गरिदै
Admin / 2014-06-02 05:08:55
नेपाल ब्युरो – जेठ १९, काठमाडौँ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा पल्सर स्पोट्र्स अवार्ड २०७० आज प्रदान गरिदैंछ ।
विभिन्न ८ विधामा दिइने उक्त अवार्डको १२ औं संस्करण प्रज्ञा प्रतिष्ठानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । अवार्डको ५ विधामा ५ – ५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । ५ विधाका विजेताको घोषणा समारोहमै गरिनेछ । अन्य तीन विधाका विजेताको घोषणा भने यसअघि नै सार्वजनिक भइसकेको छ ।
मञ्चले वर्षको उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेटका पारस खड्का, बसन्त रेग्मी, सुवास खकुरेल, गल्फका शिवराम श्रेष्ठ र एथलेटिक्सका याम साजन सुनार मनोनयनमा परेका छन् ।
त्यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा जुडोकी सुनिता बोहोरा, एथलेटिक्सकी दिलमाया कार्की, पौडीकी सोफिया शाह, क्रिकेटका सिता रानामगर र भारत्तोलनकी तारादेवी पुन मनोनयनमा परेकाछन् । यसैगरी उत्कृष्ट युवा खेलाडीको विधामा विमल घर्तीमगर, शीरिष गुरुङ, विशाल थापा सिंजाली, सोमपाल कामी र अविनाश कर्ण तथा उत्कृष्ट प्रशिक्षकमा पुवुदु दासानायके, बालगोपाल महर्जन, कपिल किशोर श्रेष्ठ, युवराज गुरुङ र ऋषिराम प्रधान मनोनयनमा परेका छन् ।
मञ्चले वर्षभरी खेलाडीले गरेको प्रदर्शन, सहभागी प्रतियोगीताको स्तर, प्रदर्शनबाट प्राप्त उपलब्धि र उपलब्धिले पारेको प्रभावलाई मध्यनजर गर्दै मनोनयन सार्वजनिक गरेको बताएको छ । वर्षको चचिर्त खेलाडी विधामा पारस खड्का, विमल घर्तीमगर, सरस्वती चौधरी, सोफिया शाह र यामसाजन सुनार मनोनयनमा परेका छन् ।
यसैगरी, मञ्चले यो वर्ष लाइफ टाइम एचिभमेन्ट अवार्ड बैकुण्ठ मानन्धर, स्पेसल अवार्ड शरद भेषावकार र पाराएथ्लीट अफ द इयरको उपाधि यादव कुँवरलाई प्रदान गरिँदैछ ।
उत्कृष्ट महिला, पुरुष र लोकप्रिय विधाका खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । मनोनयमा पर्नेले गिफ्ट ह्याम्पर पाउनेछन् ।
प्रकाशित मिति: 2014-06-02 05:08:55
प्रतिक्रिया: