साबिक बिजेता स्पेनको टोली घोषणा
एजेन्सीहरु / 2014-06-01 23:00:27
विश्वकप विजेता स्पेनका प्रशिक्षक भिसेन्ट डेल बस्कले घाइते डिएगो कोस्टासहित कशिलासको कप्तानीमा विश्वकप खेल्न ब्राजिल जाने २३ खेलाडीको टिम शनिबार घोषणा गरेका छन् ।
ब्राजिलमा जन्मिएका एट्लेटिको म्याड्रिडका फरवार्ड कोस्टा मांसपेशीको शृङ्खलाबद्द चोटले सताइएका छन् । गएको शनिबार रियल म्याडि्रडविरुद्धको च्याम्पियन्स लिग फाइनलमा उनले सुरुमै मैदान छाडेका थिए । स्पेनले विश्वकप तयारीमा एल साल्भाडोरविरुद्ध वासिङ्टनमा मैत्रीपूर्ण खेल खेल्न बाँकी छ । त्यसमा प्रशिक्षक बस्कले कोस्टाको परीक्षण गर्न सक्नेछन् ।कोस्टा पूर्ण स्वस्थ भएनन् भने नेदरल्यान्ड्सविरुद्द समूह 'बी' को पहिलो खेलको २४ घन्टाअघिसम्म स्पेनले खेलाडी परिवर्तन गर्न पाउनेछ । बस्कले कोस्टासँगै शुक्रबार बोलिभियाविरुद्ध प्राप्त २-० को जितमा पेनाल्टी गोल गरेका चेल्सीका फरवार्ड फर्नान्डो टोरेस र स्पेनका कीर्तिमानी गोलकर्ता डेविड भिया पनि टिममा समावेश गरेका छन् ।
इङलिस पि्रमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका विंगर जेसस नाभस, अल्भारो नेग्रेडो र रियल म्याडि्रडका फुलब्याक ड्यानी कारभाजल टिममा स्थान बनाउन असफल भए । कारभाजलको स्थान एट्लेटिको म्याडि्रडका अनुभवी जुआनफ्रानले लिएका छन् । चिली र अस्ट्रेलियासहित चार वर्षअघि फाइनल खेलेका स्पेन र नेदरल्यान्ड्स समूह 'बी' मा छन् । सन् २०१० को फाइनलमा अतिरिक्त समयमा नेदरल्याइन्ड्सलाई १-० ले हराएर स्पेन च्याम्पियन भएको थियो ।
प्रकाशित मिति: 2014-06-01 23:00:27
प्रतिक्रिया: