माधव नेपालको प्यानल घोषणा हुँदै
Admin / 2014-05-31 03:47:42
१७ जेठ, काठमाडौं । नेकपा एमालेको असार १९ देखि शुरु हुने नवौं महाधिवेशनका लागि माधव नेपाल पक्षले आज आफ्नो प्यानलका प्रमुख उम्मेवारको नाम घोषणा गर्न लागेको छ । अहिले केहीबेरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने विशेष कार्यक्रमबाट अध्यक्ष र केही प्रमुख पदमा उम्मेदवारको घोषणा हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।
अध्यक्षमा माधवकुमार नेपालको उम्मेवारी औपचारिक रुपमा घोषणा हुने निश्चित भए पनि अन्य पदमा अहिल्यै घोषणा गर्ने कि नगर्ने भन्ने तय भइ नसकेको नेपाल निकट उच्च स्रोतले जनाएको छ । अहिलेनै पदाधिकारी सबैमा उम्मेदवारी घोषणा गर्दा आफ्नै समूहमा पनि कतिपय अशन्तुष्ट हुने र अर्को पक्षले खेल्ने मौका पाउने भएकाले सबैको नाम घोषणा नहुने सम्भावना छ ।
‘अध्यक्षमा माधव नेपाल र महासचिवमा सुरेन्द्र पाण्डेको नाम घोषणा हुने सम्भावना रहेको छ ।’ नेपालका समूहका एक प्रभावशाली नेताले भने ‘अध्यक्ष झलनाथ खनालकेा समर्थन हामीलाई छ भनेर ओली पक्षले भनेकाले पनि सुरेन्द्र पाण्डेको उम्मेदवारी घोषणा गरेर खनाल यतै छन् भन्ने देखाउन खोजिएको हो’ । महासचिवको पनि उम्मेदवारी घोषणा नगरी अध्यक्षको मात्रै घोषणा गरेर जाने सम्भावना रहेको अर्का एक नेताले बताए ।
उपाध्यक्ष र सचिवका आकांक्षीहरु धेरै भएकाले अहिलेनै नाम घोषणा गर्दा प्यानलमा नपर्नेहरु अशन्तुष्ट र निष्क्रिय हुने सम्भावना रहेकाले अझै छलफलमै राखिने एक नेताले बताए । उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यको नाममा लगभग सहमति भइसकेको नेपाल निकट नेताहरुले बताएका छन् । सचिवमा भनें धेरै युवा नेताहरुको दावी छ । घनश्याम भुषाल, योगेश भट्टराई, रघुजी पन्त, प्रकाश ज्वाला, गोकर्ण विष्ट, पशुपति चौलागाइ, नागेन्द्र चौधरी, परशुराम मेघी गुरुङ लगायतका नेताहरुको नाम सचिवको चर्चामा छ ।
यसअघि केपी ओली पक्षले अध्यक्षमा ओली, बरिष्ठ उपाध्यक्षमा बामदेव गौतम र महासचिवमा इश्वर पोखरेलकेा नाम घोषणा गरिसकेको छ । अन्य पदमा भनें ओली पक्षले पनि अहिले नाम घोषणा नगर्ने भएको छ ।
प्रकाशित मिति: 2014-05-31 03:47:42
प्रतिक्रिया: