आइसिसीले नेपालसँगै युगान्डा डिभिजन ३ मा झरेको निश्चित गरेको छ। एकदिवसीय विश्वकप छनोटमा युगान्डा पुछारमा थियो। डिभिजन ३ का अन्य दुई टोलीमा अमेरिका र बर्मुडा छन्। गत वर्षको मे महिनामा नेपालले बर्मुडामा डिभिजन ३ को उपाधि जित्दा अमेरिका तेस्रो र बर्मुडा चौथो भएका थिए।
अर्को महिना सिंगापुरमा हुने डिभिजन ४ का शीर्ष दुई टोलीले डिभिजन ३ मा नेपाल, युगान्डा, अमेरिका र बर्मुडासँगै प्रतिस्पर्धा गर्नेछन्। आइसिसीले डिभिजन ३ को आयोजना स्थल र मिति भने पछि बताउने जनाएको छ। यस वर्षको अन्तिम सत्रलाई आइसिसीले डिभिजन ३ को सम्भावित मिति बनाएको छ। डिभिजन ३ यसअघि नेपाल हुने भनिए पनि त्यसबारे आधिकारिक केही नआएको नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुर्यालले बताए।
नेपालले डिभिजन ३ आयोजना गर्न इच्छा देखाएको उनले बताए। ‘आइसिसीले नेपाल डिभिजन ३ मा झरेको पुष्टि गरेपछि हामी डिभिजन ३ आयोजना गर्न इच्छुक रहेका बताएका थियौं, उनीहरूले यसबारे विचार गरिने बताएका थिए, त्यसपछि केही खबर आएको छैन,' प्याकुर्यालले भने।
नेपालले डिभिजन ३ सँगै डिभिजन २ पनि जितेमा विश्व क्रिकेट लिग च्याम्पियनसिप र अन्तरमहादेशीय कपमा छनोट हुनेछ। डिभिजन २ मा नामिबिया, केन्या, नेदरल्यान्ड्स, क्यानाडा छन्। जनवरीको न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा यी टोलीहरू क्रमशः पाचौंदेखि आठौं भएका थिए।
२०१५ को पहिलो ६ महिनाभित्र डिभिजन २ आयोजना हुनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप र अन्तरमहादेशीय कपका लागि डिभिजन २ छनोट आधार हुने आइसिसीले जनाएको छ। आइसिसीका अनुसार च्याम्पियनसिप र अन्तमहादेशीय कपको खेलतालिका पछि सार्वजनिक गरिनेछ।
प्रशिक्षक पुबुदु दासानायकेले आइसिसीले नेपाललाई एउटा अर्को अवसर दिएको र त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए। ‘डिभिजन ३ नोभेम्बरमा हुँदैछ भनेर ३ महिना आराम गरेर हुँदैन, त्यसका लागि अहिले नै योजना बनाएर अगाडि बढ्नुपर्छ,' दासानायकेले भने, ‘अहिले हामीले यो अवसर समात्न सकैनौं भने ५–७ वर्ष पछाडि पर्छौं।' आइसिसीले सन् २०१७ सम्म च्याम्पियनसिप र अन्तरमहादेशीय कपको खेलतालिका प्रकाशित गर्न लागेको हो।
‘अलि अप्ठेरो देखिए पनि गत वर्ष हामीले डिभिजन ३ जितेका हौं। त्यसैले डिभिजन ३ मा खासै गाह्रो नहुनसक्छ,' दासानायकेले भने, ‘नेदरल्यान्ड्स, क्यानाडा, केन्याजस्ता टोलीहरू भएकाले डिभिजन २ हामीलाई गाह्रो हुनसक्छ। न्युजिल्यान्डको प्रतियोगिताले हामी डिभिजन २ का लागि तयार नभएजस्तो देखाइसक्यो। त्यसैले अझ त्यो भन्दा राम्रो तयार गर्नुपर्छ।'