रियल मड्रिड किर्तिमानी दशौं पटक युरोपियन च्याम्पियन बनेको छ । शनिबार राति भएको फाइनलमा घरेलु प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले उपाधि उचालेको हो ।
पोर्चुगलको राजधानी लेस्बनमा भएको खेलमा अग्रता भने एथ्लेटिको मड्रिडले लिएको थियो । तर, अन्तिम केही मिनेट जोगाउन नसक्दा च्याम्पियन बन्ने मौका गुमायो ।
एथ्लेटिको मडि्रडले ३६ औं मिनेटमा डिएगो गोडिनको गोलबाट अग्रता लिएको थियो । उनले रियल मड्रिडका गोलरक्षक कासिलासको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।
तर, दोश्रो हाफको अतिरिक्त समयमा सर्जिओ रामोसको हेडरले जाली चुमे पछि खेल बराबर भएको थियो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
११० औं मिनेटमा डि मारियाले प्रहार किपरलाई लागेर आएको रिबाउन्डमा ग्यारेथ बेलले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ११८ औं मिनेटमा मार्सेलोले एकल प्रयासमा गोल गरे । खेलको अन्तिम मिनेटमा क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि रियल मड्रिड च्याम्पियन बन्यो ।
हेर्नुस खेलको भिडियो।