राप्रपा नेपालको पहिलो महाधिवेशन आजबाट राजधानीमा सुरु
Admin / 2014-05-24 03:31:51
नेपाल ब्युरो–जेठ १०, काठमाडौँ ।
राष्ट्रियता प्रजातन्त्र र सनातन धर्मको रक्षा गर्दै अबको गन्तब्य आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ राप्रपा नेपालको पहिलो महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदैछ ।
पार्टिका अध्यक्ष कमल थापाले दिउँसो १ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको राप्रपा नेपालले जनाएको छ ।
महाधिवेशन उद्घाटन समाहरोहमा करीब १ लाख जनतालाई कार्यक्रममा उतार्ने राप्रपा नेपालले दाबी गरेको छ । राजधानीका विभिन्न स्थानहरुबाट सम्पर्क समिति र समाजहरुले आ–आफ्नो भेसमा जनजाती झल्कने झाकी तथा बाजागाजासहित साढे १२ बजे र्याली समारोहस्थल जाने कार्यक्रम तय भएको बताइएको छ । उद्घाटन समारोहलाई नै राप्रपा नेपालले आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएको छ ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुख तथा कुटनीतिक नियोगका प्रमुखलाई निमन्त्रणा गरिएको छ ।
उद्घाटन समारोह पछि आइतबारबाट नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा अध्यक्ष थापाले पार्टीको वैचारिक अबधारणा, वर्तमान परिस्थिति एवम् भावी कार्यदिशासम्बन्धी ३९ पेज लामो राजनीतिक दस्तावेज पेश गर्ने बुझिएको छ ।
अध्यक्ष थापाले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमा तत्कालिन ७ दल र एकीकृत माओवादीबीच भएको १२ बुँदे समझदारीलाई अपवित्र भन्दै त्यसलाई त्रूटिपूर्ण मार्गचित्रको संज्ञा दिइएको छ ।
उक्त समझदारीलाई राष्ट्रियता पहिचान मेटाउने सहमतीको संज्ञा दिइएको छ। यसैगरी देशमा वर्तमान समयमा भइरहेको विदेशी चलखेलले तिब्रता पाएको दाबी गर्दै राष्ट्रियता अखण्डतामाथि गम्भीर चुनौति आइपरेको र देश संकटको भुमरीमा फस्दै गएको उल्लेख गरिएको प्रतिवेदनमा उल्लेख छ।
महाधिवेशनमा २४० निर्वाचन क्षेत्र तथा जिल्ला जनवर्गीय सङगठनका २ हजार २ सय प्रतिनिधि र ३ सय पर्यवेक्षकको सहभागिता रहने राप्रपा नेपालले जनाएको छ ।
प्रकाशित मिति: 2014-05-24 03:31:51
प्रतिक्रिया: