अन्तत: नागरिक दैनिकले क्षमा माग्यो
Admin / 2014-05-19 23:01:47
सहयात्री समाचार–६ जेठ ,काठमाण्डौं ।
अन्ततः ‘नागरिक’ का प्रधान सम्पादकले दिलशोभा श्रेष्ठको समाचारमा क्षमा मागेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा ‘अरु आरोप पुष्टि भए पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको’ भन्दै पहिलो पेजमा प्रधान सम्पादकले क्षमा मागेका हुन्।
‘नागरिक’ले समाचार गलत भएकोमा माफी मागेको यो पहिलो अवसर हो। यसअघि डा. भक्तमान श्रेष्ठ अपहरण कान्डमा बेपत्ता डाक्टर माओवादी कब्जामा शीर्षकमा अपहरणमा माओवादी संलग्नता रहेको पुष्टि भएको भन्दै छापेको समाचार प्रहरी अनुसन्धानले गलत साबित गरिसक्दा पनि यो समाचार छाप्ने ‘रिपब्लिका’ र ‘नागरिक’ले अहिलेसम्म माफी मागेको छैन। तत्कालीन ‘रिपब्लिका’का सम्पादक अमित ढकाल र ‘नागरिक’का सम्पादक नारायण वाग्लेले अहिलेसम्म यो विषयमा सार्वजनिक रुपमा केही बोलेका छैनन्। काठमाडौँ पोस्टमा हुँदा रस्सेन्द्र भट्टराई कान्डमा एक पटक परिसकेका प्रतीक प्रधानले भने यस पटक नागरिकका प्रधानसम्पादकको हैसियतमा माफी मागेर नैतिकता देखाएका छन्।
वास्तवमा दिलशोभाको समाचारमा नागरिक सुरुदेखि नै चुकेको थियो। नागरिकको समाचारको शीर्षक र लिडलाइन (समाचारको पहिलो वाक्य) बचाउ गर्न सकिने खालको थिएन। ‘यौन दुराचार’ नागरिकले आविस्कार गरेको शब्द थियो। उजुरीमा कतै पनि ‘यौन दुराचार’ लेखिएको थिएन। उजुरीमा बरु ‘अनैतिक काम’ भनिएको छ। तर नागरिकले शीर्षक छाप्यो- दिलशोभालाई ‘यौन दुराचार’को आरोप। त्यसैगरी समाचारको ‘लिड’मा लेखिएको थियो- ‘आमाघर’को नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ ‘आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको’ तथ्य फेला परेको छ। उनको आश्रममा वृद्धासहित ५३ बालबालिका छन्। यो तथ्य फेला परेको कुरा समाचारमा कतै पनि भेटिँदैन। यसले उजुरीमा उक्त कुरा लेखिएको भन्दा पनि आफैले खोजेर तथ्य फेला परेको जस्तो भान दिन्छ। उजुरीमा रहेका १६ बुँदा नै गम्भीर थिए। ती मध्ये सबैभन्द कमजोर बुँदालाई ‘नागरिक’ले मुख्य विषय बनाएर उठाउँदा अरु गम्भीर र बलिया बुँदा ओझेलमा परे। पत्रकारितालाई पनि यो ठूलो पाठ हो।
यो प्रकरणबाट पत्रकारले कमजोर बुँदालाई बढी हाइलाइट गर्दा त्यसैमा बहस अल्झिएर बलिया बुँदामा समेत ध्यान कम जाने गरी कमजोर हुने पाठ सिकाएको छ।
त्यो समाचारलाई त्यसरी यौन दुराचार भनेर सेन्सेसनलाइज गर्नुपर्ने जरुरी पनि थिएन। तर ‘डेस्क’ ले बढी सेन्सेनलाइज गर्न खोज्दा चुक्न पुग्यो।
त्यो समाचारमा अवैध रुपमा बालबालिका राखिएको र बाल कल्याण समितिले त्यो दिन रेस्क्यु गर्दैछ भन्ने विषय नै ठूलो इस्यु थियो। मलाई त रेस्क्यु नै ठूलो विषय जस्तो लागेको थियो र त्यही शीर्षक बनाएको थिएँ। ‘अनैतिक काम’को पनि उजुरी छ है भनेर अडियो चाहिँ राखिदिएको थिएँ। माइसंसारले कहिले पनि ‘यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको तथ्य फेला परेको’ जस्ता शब्द प्रयोग गरेन। बरु उजुरीको पूर्ण विवरण र त्यसैमा संलग्न केही अडियो र भिडियो प्रमाण राखेको थियो।
सुरुको त्यो गल्तीलगत्तै ‘नागरिक’ले ‘यौन दुराचार’को बारेमा अनुसन्धानले पुष्टि नगरुन्जेल शब्दलाई फिर्ता लिँदै अरु विषयमा लगातार फलोअप गर्न सक्नु पर्थ्यो। तर परिवार भएकै घरका बालबालिकालाई अनाथ भनेर त्यहाँ राखिएको, आश्रय दिने भनेर अरुको घरमा काम गर्न पठाएको, बालबालिकामाथि दुर्व्यवहार भएको, विदेश पठाएको, आर्थिक हिनामिना जस्ता विषयलाई पनि उठाउन ‘नागरिक’ चुक्यो।
प्रकाशित मिति: 2014-05-19 23:01:47
प्रतिक्रिया: