रिक्सा नम्बर २४० मा दोङ
Admin / 2014-05-19 05:08:09
काठमाडौं । सञ्चारकर्मी दीपेन्द्र दोङ तामाङ एक वर्षको अन्तरालपछि पुनः चलचित्र निर्देशनमा फर्कदैछन् ।
उनी यतिखेर आफ्नो नयाँ चलचित्र रिक्सा नम्बर २४० निर्देशनको तयारीमा व्यस्त छन् । महत्वाकांक्षी चलचित्र रेडियोको काम कलाकार र मौसमको कारण केही पर धकेलिएपछि उनले यसबीचमा रिक्सा नम्बर २४० निर्माण गर्न लागेका हुन् ।
आफ्नो हरेक चलचित्रमा समाज र यहीका समुदायभित्रको कथा र व्यथालाई मिठो र तीखो तरिकाले उठान गर्दै आएका निर्देशक दोङले यसपटक चाहिं काठमाडौंकै एक मध्यम वर्गीय परिवारको कथालाई उठान गर्ने भएका छन् ।
काठमाडौंको बढ्दो महँगी र अभावका बीचमा मध्यम वर्गीय परिवारहरु कसरी बाँचिरहेका छन् ? भन्ने प्रश्नको गतिलो जवाफ चलचित्र रिक्सा नम्बर २४० ले दिने निर्देशक दोङको दाबी छ । त्यसैले उनले आफ्नो चलचित्रको रफ लुकमै सरी काठमाडौं मध्यम वर्गीयहरुका लागि होइन भनेर उल्लेख गरेका छन् ।
पहिचान इन्टरटेन्टमेन्टले निर्माण गर्ने रिक्सा नम्बर २४० लाई निर्देशक दोङ आफैंले लेखेका हुन् । चलचित्रमा केही थियटरका र नयाँ अनुहारका कलाकारको अभिनय रहनेछ । यस चलचित्रलाई काठमाडौंमा आयोजना हुने चलचित्र महोत्सवको अवसर पारेर रिलिज गर्ने निर्माण पक्षको योजना छ ।
प्रकाशित मिति: 2014-05-19 05:08:09
प्रतिक्रिया: