पोलिस मुलका अमेरिकन ज्याक स्टेफोनास्कीले पुन नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले ज्याकलाई पुन नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । यस अघि पनि राष्ट्रिय फुटबल टिमको प्रशिक्षक भइसकेका ज्याकलाई एन्फाले एक वर्षे नयाँ सम्झौता गर्ने भएपछि उनी शुक्रबार मात्र नेपाल आइपुगेका हुन् ।
एन्फा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले स्टेफोनास्कीसँग थप एक वर्षको लागि सम्झौता थपिएको जानकारी गराए । उनले भने, ‘स्टेफोनास्कीको प्रशिक्षणमा नेपालले राम्रो उपलब्धी हासिल गरेको छ । पुरानै सेवासुविधामा उनीसँग सम्झौता थपिएको हो ।”
श्रेष्ठका अनुसार ज्याकलाई एन्फाले मासिक ४ हजार अमेरिकी डलर, यातायात र आवासीय सुविधा उपलब्ध गराउनेछ । स्टेफानोस्कीको प्रशिक्षमा नेपाल घरेलु मैदानमा भएको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुगेको थियो । अघिल्लो कार्यकालमा सहायक रिचर्ड ओर्लोस्कीलाई पनि संगै ल्याएका ज्याकले यसपाली भने उनलाई ल्याएका छैनन् ।