काठमाडौ, आश्विन ५ - भारतको गुरगाउँमा गुगलले एन्ड्रोइड वान
ब्राण्डमा सार्वजनिक गरेको सस्तो स्मार्टफोनले विश्वको ध्यान केन्द्रीत गरेको छ, जसको मूल्य भारतमा १ सय अमेरिकी डलर
मात्रै पर्नेछ । भारतका तीन निजी मोबाइल उत्पादक कम्पनीसँगको सहकार्यमा गुगलले
भारतमा एन्ड्रोइड वान ल्याएको हो ।
विकासोन्मुख मुलुकमा सस्तो
स्मार्टफोन बिक्री गर्ने गुगलको यो अभियान सफल भए मोबाइल अपरेटिङ सिस्टममा
एन्ड्रोइडको आधिपत्य अझैं बढ्नेछ । अहिले कूल बजारको ८० प्रतिशत हिस्सा एन्ड्रोइड
अपरेटिङ सिस्टमकै छ ।
गुगलले आफ्नो अभियानको लागि भारतीय
मोबाइल उत्पादक माइक्रोम्याक्स, कार्बन
र स्पाइससँग सहकार्य गरेको हो । गुगलले तोकेको डिजाइन र मापदण्ड अनुसार ति
कम्पनीले मोबाइल तयार पारेका हुन् । मोबाइलमा एन्ड्रोइड ओएस राखिएको छ, जुन प्रयोगकर्ताले २ बर्षसम्म निशुल्क र स्वत: अपडेट भएको
पाउनेछन् । सबै मोबाइलमा एन्ड्रोइडको किटक्याटको पछिल्लो भर्सन प्रयोग गरिएको छ ।
तीनै कम्पनीको फोनमा ४.५ इन्चको
स्क्रिन, दुई सीम क्षमता, १ जिबी र्याम, ५
मेगापिक्सेल रेअर क्यामरा, वाईफाई, एसडीकार्ड लाग्ने सुविधा र चार जिबी स्टोरेज रहनेछन् । गुगलले
सस्तो स्मार्टफोनमार्फ्त विकासोन्मुख देशका करोडौंलाई एन्ड्रोइड प्रयोगकर्ता
बनाउने लक्ष्य राखेको छ ।
गुगलसँगको सहकार्यमा भारतीय एयरटेलले
एन्ड्रोइड वानको प्रयोगकर्तालाई मासिक २ सय एममी डाटा निशुल्क दिने र गुगलबाट हुने
अपडेटको शुल्क नलिने भएको छ । यो अभियानमा भारतका प्राय सबै टेलिकम अपरेटर सहभागी
हुने गुगलको दाबी छ ।
सस्तो फोनको यस्तो अभियान भारतबाट
सुरु गरेर यो बर्षभित्र नेपाल, इन्डोनेसिया, फिलिपिन्ससहित सबै एसियाली र सन् २०१५ भित्र विकासोन्मुख
सबै देशमा पुर्याउने गुगलको लक्ष्य छ । अन्य मोबाइल उत्पादक एसर, असुस, एचटीसी, लेनोभोले पनि आफ्नो सहकार्यमा मोबाइल उत्पादन गर्ने गुगलको
दाबी छ ।
एक बर्ष अघि माइक्रोसफ्टले नोकिया
किनेपछि स्मार्टफोन बजारमा उपस्थिति बढाउन सस्तो स्मार्टफोनको अवधारणा ल्याएपनि
त्यसले खासै फाइदा गरेको थिएन । दुई महिना अघि मात्रै भारतमा सस्तो भनेर फाएरफक्स
स्मार्टफोन सार्वजनिक गरेपनि त्यसले खासै व्यापार गरेन ।
विगतबाट पाठ सिकेर होला गुगलले माउथ
पब्लिसिटीलाई बढावा दिने भएको छ, जसको
लागि वाईफाई सुविधासहितको ट्रकमा राखेर २० सहरको ६ सय स्थानमा 'सोरुम अन ह्वील' नाम
दिई प्रचार गर्ने तयारीमा छ । साथै, मोबाइलको
प्रचारको लागि ३० हजार बढीलाई एन्ड्रोइड एम्बासडरको रुपमा परिचालन गर्ने कम्पनीको
योजना छ ।