विराटनगर–मधेसलाई
छुट्टै 'राज्य'को वकालत गर्दै हिँडेका डा. सिके राउतलाई मोरङ प्रहरीले शनिवार पक्राउ
गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार राउतलाई रंगेली इलाकाबाट
पक्राउ गरिएको छ।
'राष्ट्रिय अखण्डता'संग जोडिएको विषयमा राउतलाई नियन्त्रणमा
लिइएको प्रहरीको भनाइ छ। सप्तरीको महादेवा निवासी राउत अमेरिकामा अध्ययन गरेका हुन्।
मोरङ प्रहरीले राउतको पक्राउको बारेमा अबेर साँझ पृष्टि गरेको छ।
मधेसलाई छुट्टै देश बनाउन सकिने र त्यसको
ऐतिहासिक पृष्ठभूमि रहेको दाबी गर्दै मधेसभर अभियानमा हिँडिरहेका राउतलाई मोरङ प्रहरीले
पक्राउ गरेको डिएसपी ढकालले बताए। मधेसको इतिहास र मधेस आन्दोलनसंग जोडिएको थुप्रै
डकुमेन्टी निर्माण गरिसकेको राउतलाई एमाओवादीका नेता बाबुराम भट्टराईको अध्यक्षतामा
रहेको संवैधानिक संवाद तथा सहमति समितिले सुझावका लागि बोलाएको थियो।
भट्टराईले बोलाएको समितिको छलफलमा राउतले
मधेसी जनतामाथि शोषण, दमन र उत्पिडन जारी रहे मधेसलाई छुट्टै
देश बनाउन सकिने विचार व्यक्त गरेको साता नपुग्दै उनलाई मोरङबाट पक्राउ गरिएको छ।
पूर्व क्षेत्र प्रहरी कार्यालयका प्रमुख
डिआइजी नवराज सिलवालले राउतलाई राष्ट्र बिरोधी गतिबिधिमा संलग्न रहेको आरोपमा पक्राउ
गरिएको बताएका छन्।