शान्ति सेनामा गएका तत्काल स्वदेश फर्कने नपाउने
Admin / 2014-09-06 02:58:40
नेपाल ब्युरो– भदौ २१, काठमाडौ ।
संयुक्त राष्ट्रसंघले शान्ति सेनामा गएकाहरुलाई तत्काल स्वदेश फर्कन नदिने भएको छ ।
सघंले पश्चिम अफ्रिकामा खटिएका नेपाली लगायत अन्य देशका शान्ति सैनिकलाई कार्यकाल सकिए पनि तत्काल स्वदेश फर्कन नदिने भएको हो ।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमान सेवाले इबोला संक्रमित राष्ट्रमा उडान भर्न प्रतिबन्ध लगाएकाले कार्यकाल सकिएका शान्ति सैनिक केही साता त्यहीं रहने भएका हुन् ।
पश्चिम अफ्रिकाका लाइबेरिया, गिनी, सियरालियोन र नाइजेरियामा इबोला भाइरसले महामारीको रुप लिएको छ । यीमध्ये इबोलाको केन्द्रबिन्दु मानिएको लाइबेरियामा मात्र संयुक्त राष्ट्रसंघ युएनको शान्ति मिसनमा नेपाली सैनिक कार्यरत छन् ।
सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलका अनुसार लाइबेरियामा २० नेपाली शान्ति सैनिक छन् । २० मध्ये १५ सैनिकको कार्यकाल सकिसकेको छ । उनीहरु ६ महिनाका लागि त्यहाँ खटिएका थिए ।
लाइबेरियामा खटिएकामध्ये १५ सैनिकको कार्यकाल सकिएका कारण भदौ २५ गते स्वदेश फर्किने कार्यक्रम थियो तर उनीहरुलाई युएनले त्यहीं बस्न भनेको छ । कार्यकाल सकिएका सैनिकलाई लाइबेरियामै राख्नेबारे युएनले नेपाली सेनालाई जानकारी गराइसकेको छ ।
प्रकाशित मिति: 2014-09-06 02:58:40
प्रतिक्रिया: