२० भदौ, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा मनोनित सभासदसमेत
रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापामाथि भइरहेको छानविनले राजनीतिक
रंग लिन थालेको छ । लगातारको छलफलपछि पनि लेखाले एन्फामा भएको भनिएको अनियमिताबारे
छलफल गर्ने बाहेक केही गर्न सकेको छैन ।
छलफल लम्बिँदै जाँदा कांग्रेसका सभासदहरु
उजुरीकर्ताको पक्षमा खुलेर लागेका छन् भने राप्रपा नेपालका सभासद गणेश थापाको बचाऊमा
उत्रिएका छन् । गणेश थापाविरुद्ध उजुरी दिने एन्फाका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा
कांग्रेस नेता जिपछिरिङका भाइ हुन् भने गणेश राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ
हुन् ।
नेताको पारिवारिक सम्बन्धको छाँया लेखा
समितिको छलफलमा देखिएको छ । कांग्रेस सभासदहरुले एन्फामा अनियमितता भएको ठोकुवा गर्दै
थापालाई निलम्बन गर्नुपर्ने माग गर्न थालेका छन् । राप्रपा नेपालका सभासदहरु भने गणेश
थापाको बचाउमा खुलेर लागेका छन् ।
लेखा समितिको शुक्रबारको बैठकमा कांग्रेस
सभासद रामहरि खतिवडाले एन्फा अध्यक्ष गणेश थापाले लेखा समितिको अपमान गरेको आरोप लगाए
। ‘म फलानो थापाको सन्तान हुँ भनेर लेखालाई
धम्क्याउने काम भएको छ’ उनले भने ।
एन्फाले नेपालमा जतिवटा बैंक छन्, ती सबैमा खाता खोलेको पाइएको छ । तीमध्ये
कुनै बैंकमा २/३ वटासम्म खाता रहेको पाइएको भन्दै सभासद खतिवडाले यसको आम्दानीको स्रोत
के हो भनी बैठकमा प्रश्न गरे ।
राष्ट्रिय खेलकुद परिषदको छानविन र लेखा
परीक्षण रिपोर्टले समेत अनियमिता भएको देखाएको उनको दाबी छ । उनले भने- ‘एन्फाले पठाएको पत्रमा नै ७२ लाख ब्याजबाट
आएको रकम देखाइएको छ । त्यसको सावाँ कहाँ छ ?’
थापालाई सभासदमा मनोनित गरेकोप्रति संकेत गर्दै खतिवडाले कुनै पदमा मनोनित हुुँदैमा अनियमितालाई गम्भीर रुपमा नलिए लेखा समितिको साख गिर्ने बताए ।
तर, खतिवडापछि
बोलेका राप्रपा नेपालका सभासद दिनेश श्रेष्ठले विषयवस्तुभन्दा बाहिरबाट आरोप प्रत्यारोप
लागेको गुनासो पोखे । ‘केही साथीहरु उहाँको पछि लागेको देखिन्छ’ श्रेष्ठले
भने-’अनियमिता छ भनेर ठूलो स्वरमा आरोप लगाउँदैमा
समितिले भन्न मिल्दैन ।’
संविधानसभामा रहेका अन्य सभासदमाथि पनि
विभिन्न आरोप लगेको होला भन्दै श्रेष्ठले लेखामा छानविन भइरहेको छ भन्दैमा २६ सभासदमा
किन मनोनित गरियो भनेर प्रश्न उठाउन नहुने बताए ।
अर्का सभासद भास्कर भद्राले मातहतका अन्य
निकायले पनि छानविन गरिरहेको भन्दै राय बाझिन सक्ने भएकाले लेखा समितिले अहिले छानविन
रोक्नु पर्ने धारणा राखे ।
सभासदहरुको आरोप प्रत्यारोप सुनेपछि समितिका
सभापति जर्नादन शर्मा प्रभाकरले लेखा समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेर छानविन
गरिरहेको बताए । ‘आग्रह पूर्वाग्रहका आधारमा भन्दा छानविन
गरेको होइनौं’ उनले भने-’छलफलमा उठेका तर्कहरुलाई अन्यथा नलिऔं र
निर्णय नभएसम्म पनि आरोपित नगरौं ।’
एन्फा अध्यक्षले आफूलाई न्याय चाहियो भनेको
प्रति संकेत गर्दै उनले भने-’हामीले
न्याय दिन भनेको के ? भ्रष्टाचार गरेकोलाई नछाड्ने र नभएकोलाई
नपार्ने हो ।’
समितिले एन्फाको बैंक स्टेटमेन्ट माग गर्ने
निर्णय गरेको छ । साथै आन्दानी र ब्याजको विवरण र अन्य निकायबाट आएको रकमबारे पनि हिसाब
मागेको छ । एन्फाले बुझाएको आय-व्यय विवरणसहितका कागजपत्र लेखाले अख्तियार दुरुपयोग
अनुसन्धान आयोगसँग पनि माग्ने भएको सभापति शर्माले बताए ।