राजविराज : जिल्ला अदालत
सप्तरीले तराई जनतान्त्रिक मुक्ति मोर्चाका तत्कालीन वार्ता टोली सदस्य अमरेन्द्र गोइतलाई
सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।अदालतले सप्तरीको लोहजरा गाविसका झरीलाल कुसियत
यादवको अपहरण गरी हत्या गरेको आरोपमा मोर्चाका अमरेन्द्रसहित सुरेन्द्र गोइतलाई पनि
सोही फैसला सुनाएको हो।
मोर्चाका कमाण्डर जयप्रकाश
यादवको मुद्दा भने मुल्तबी राखिएको छ।
अमरेन्द्र गोइत मधेशी भाइरस
किलर्स्का पार्टी अध्यक्ष थिए। २०६७ बैशाखमा सप्तरीको त्रिकोल गाविसको न्यू बाबा मन्दिरमा
वेवारिशे अवस्थामा राखिएका इंग्ल्यान्ड र चाईनिज मेडका एक/एक थान पेस्तोल, चार थान बन्दुक, १४ थान लोड भएको अवस्थामा म्याग्जिन
तथा ती आधुनिक हतियारहरुमा प्रयोग हुने १४ थान गोली फेला परेका थिए।
उक्त हातहतियार गोइतले लुकाएर
राखेको प्रहरीले अनुमान गरेको थियो। पाँच वटा ज्यानसम्बन्धी र एउटा हातहतियार मुद्दामा
मुछिएका उनी पछि जनतान्त्रिक मुक्ति मोर्चामा प्रवेश गरेका थिए।
ज्यान मुद्दामा भारतमा समेत
पक्राउ पुर्जी जारी गरिएका गोइत ०६७ चैतमा वार्ता टोली सदस्य बनेर काठमाडौं आएका थिए।
तर गृहको विरोधको कारण शान्ति मन्त्रालयबाट परिचयपत्र फुत्काउन सकेनन्।
हत्या, ज्यान मार्ने उद्योग र हातहतियार
तथा खरखजानाको आरोपमा गोइत त्यसको दुई साता अघि नै विराटनगरबाट पक्राउ परेका थिए। उनलाई
जिल्ला अदालत सप्तरीको आदेशमा पुर्पक्षका लागि सप्तरी कारागारमा राखिएको थियो।
सप्तरीपछि जिल्ला कारागार
रामेछाप र उदयपुरमा थुनामा राखिएका अमरेन्द्र हाल क्षेत्रीय कारागार कार्यालय झुम्का
सुनसरीमा थुनामा छन्।
आरोपीले २०६५ मंसिर २ गते
झरीलाल कुसियत यादवलाई अपहरण पछि गोली हानी हत्या गरेका थियो। हत्या पछि घरदेखि २ किलोमिटर
दक्षिण खाल्डोमा फालिएको अवस्थामा यादवको मृत शरीर फेला परेको थियो।
यादवकी पत्नी विन्दादेवी
यादवले २०६५ मंसिर १७ गते आरोपितहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी
दिएकी थिइन्।
न्यायाधीश तेजनारायण पौडेलको
इजलासले आरोपितलाई यादवको अपहरण पछि गोली हानी हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको
जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले बताए। अदालतले झरीलालको हत्यामा आरोपित शिवनारायण
यादव,
जोगिया भनिने जोगेन्द्र मरिक यादव, विरेन्द्र गुरमैता यादव, रबी मरिक, सत्यनारायण यादव र नागेश्वर गिरीलाई
तीन वर्ष कैद सजायको फैसला सुनाएको छ।
आरोपीमध्ये रबी मरिक, उमेश, विरेन्द्र र सत्यनारायणलाई पुर्पक्षका
लागि अदालतले साधारण तारेखमा रिहा गरेको थियो। साधारण तारेखमा रिहा भएका उनीहरु तारेख
गुजारी सम्पर्कविहिन अवस्थामा रहेको बताइएको छ।